आइसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको विजयी सुरुआत, न्यूजिल्यान्ड ३२ रनले पराजित

npnews | 14:50 | 0 comments

बंगलादेशमा जारी आइसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ ।

टेस्ट मान्यता प्राप्त राष्ट्र न्यूजिल्यान्डलाई विहीबार ३२ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सनसनीपूर्ण सुरुआत गरेको हो ।

बंगलादेशको फतुल्लाहमा नेपालले दिएको २३९ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्यान्ड ४७ दशमलव १ ओभरमा २०६ रनमा समेटिएपछि नेपालले शानदार जित दर्ता गरेको हो ।

कसिलो बलिङ गर्दै सुरुआतदेखि न्यूजिल्यान्डलाई दबाबमा राखेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए ।

यस्तै, प्रदीप तामाङले २ तथा सुनील धमला र सन्दीप लामिछानेले १-१ विकेट झारे ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान राजु रिजालको सर्वाधिक ४८ रनको मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३८ रन जोडेको थियो ।

नेपालका लागि सन्दीप सुनार र आरिफ सेखले समान ३९-३९ रनको योगदान गर्दा आठौं नम्बरमा क्रिजमा आएका कुशल भुर्तेलले २३ बलमा अविजित ३५ रन बनाउँदै नेपाललाई राम्रो योगफलसम्म पुर्‍याएका थिए ।

यस्तै, राजवीर सिंहले २४, दीपेन्द्रसिंह ऐरीले १६, सुनील धमलाले १५, योगेन्द्रसिंह कार्कीले ६ तथा प्रदीप तामाङले अविजित ४ रन जोडे ।

नेपालले सन् २००६ को प्रतियोगितामा न्यूजिल्यान्डलाई हराएर प्लेट च्याम्पियन बनेको थियो ।

यु-१९ विश्वकप क्रिकेटको विभिन्न संस्करणमा टेस्ट मान्यता प्राप्त टोलीहरु दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र जिम्बाबेलाईसमेत पराजित गरिसकेको नेपालको विहीबारको जितसँगै दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनेको छ ।

आफ्नो दोस्रो खेलमा शनिबार आयरल्यान्डलाई पराजित गर्न सके नेपालको दोस्रो चरण प्रवेशको सम्भावना बलियो बन्ने छ ।

नेपाल रहेको समूह डीमा न्यूजिल्यान्डसँगै भारत र आयरल्यान्ड छन् । समूहको अन्तिम खेलमा नेपालले सोमबार भारतको सामना गर्नेछ । - इमेजखबरमा समाचार छ । 

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments