तैले कसैलाई भनिस भने तेरा सबै परिवार लाई मारीदिन्छु भन्दै बार - बार बलात्कार

npnews | 02:02 | 0 comments

बारा, २३ साउन । विवाहअघि भएको बलात्कारबाट गर्भ बोकेकी बाराकी एक युवतीको बिचल्ली भएको छ । विवाह गरेको केही महिनामा नै गर्भ बोकेको थाहा भएपछि बारा पटेर्वा–२ की ती युवती घरबाट निकालिएकी थिएन् । घरबाट निकालिएपछि माइत बस्दै आएकी उनले यही साउन ७ गते छोरीलाई जन्म दिएकी छिन् । विवाहअघि शम्भु साहका छोरा अजयबाट २०६९ साल कात्तिकदेखि आफू पटकपटक बलात्कृत हुदै आएको उनी बताउँछिन् ।
विसं. २०६९ माघ १८ गते बसवरियाका एक युवकसँग विवाह बन्धनमा बाँधिएकी उनले आफूलाई घरमा एक्लै भएको मौका छोपी अजयले बलात्कार गरेको बताइन् । कसैलाई भनिस् भने तेरो सबै परिवारलाई मारिदिन्छु भन्दै धम्की दिएर पटक–पटक बलात्कार गर्ने गरेको उनले सुनाइन् । धम्कीकै कारण आफूले बलात्कारबारे कसैलाई भन्न नसकेको उनी बताउँछिन् ।
उनी अहिले न्याय खोज्दै प्रहरीमा पुगेकी छिन् । लामो समय घटनालाई लुकाउँदै आएकी उनले घरबाट निष्कासित हुनुपरेपछि आफ्नो बच्चालाई न्याय र अधिकार दिलाउन प्रहरीमा पुगेको बताइन् । उनले साउन १० गते इलाका प्रहरी कार्यालय सिम्रौनगढ र जिल्ला प्रहरी कार्यालय बारामा बलात्कार गर्ने अजयविरुद्ध किटानी जाहेरी दिएकी छिन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले अजयका विरुद्ध उनले यौनशोषण गरेको किटानी जाहेरी दिएको पुष्टि गर्नुभएको छ । जाहेरीका आधारमा अजयलाई नियन्त्रणमा लिएर छानबिन गर्न इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई पत्राचार गरिएको बरालले जानकारी दिनुभयो ।
पीडकविरुद्ध प्रहरीमा जाहेरी परेपछि घटनालाई गाउँमै मिलाएर अपराधी उम्काउन षडयन्त्र सुरु भएको छ । घटनालाई गाउँमा नै मिलाउनुपर्छ भन्दै स्थानीय केही अगुवा र अजयका काका हरेन्द्र क्रियाशील भएका छन् । घटनालाई ढाकछोप गर्नका लागि गाउँमा पञ्चायत गरी केही रकम लिएर मिलापत्र गर्न दबाब आएको ती युवतीका बाबुको गुनासो छ । घटनालाई गाउँमै मिलाउन दबाब दिँदै आएका स्थानीय मधुसूधन कलवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोरकुमार उपाध्यायले  सोधपुछका लागि मधुसूधनलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोरकुमार उपाध्यायले यौनशोषण गर्ने युवकको खोजतलास भइरहेको बताउनुभयो ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments